गाउँपालिका स्तरीय १० शैयाको हस्पिटल शिलान्यास कार्यक्रम |

मोदी गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको शिल्यान्यास भएको छ । प्रतिनिधि सभाका सांसद पदम गिरीले एक कार्यक्रमका वीच अस्पतालको शिल्यान्यास गरेका हुन् । मोदी गाउँपालिका वडा न ५ बाजुङको पोखरे भन्ने स्थानमा उक्त अस्पताल भवनको शिल्यान्यास भएको हो ।

अस्पतालको शिल्यान्यास कार्यक्रममा बोल्दै सांसद गिरीले संविधानले जनताको स्वास्थ्य सेवाको सुनिश्चिता सरकारले गर्नुपर्ने कुरा उल्लेख गरेको भन्दै स्वास्थ्य र आवासको ग्यारेन्टी गर्न शुरुवात गरिएको उल्लेख गरे । उनले कोहि पनि जनता स्वास्थ्य सेवा नपाएर अकालमा मर्न नपर्ने बनाउनका लागि वर्तमान सरकारले एक पालिका एक अस्पतालको अवधारणा अघि सारेको समेत बताए । कार्यक्रममा सांसद गिरीले स्वास्थ्य सेवा संगै जिल्लामा अन्य विकास निर्माणका कामहरु पनि संगै अघि बढेको बताए । सडक सञ्जाल र अन्य पूर्वाधार क्षेत्रमा पर्वत जिल्लाले काचुली फेर्न लागेको उनको भनाई छ ।

कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले गाउँपालिकालाई सम्बृद्ध बनाउन पर्यटन, सडक र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कामहरु गरिएको जानकारी दिए । उनले कृषि र पशुपालनमा तथा लघु उद्यमकोे माध्यमबाट आर्थिक उपार्जनमा नागरिकलाई लैजाने गरी गाउँपालिकाले योजना गरेको समेत बताए ।
कार्यक्रममा मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महतले सवैको साझा र अपनत्व हुने गरी अस्पतालले सेवा प्रवाह गराउने कुरामा सवैले ध्यान दिनुपर्ने बताईन । अस्पतालको भवन निर्माण सके पछि त्यहाँबाट प्रवाह हुने सेवाले जनतामा सन्तुष्टिको मापन हुने उनको भनाई थियो ।

कार्यक्रममा जग्गादाता मनकुमार पौडेलले निशुल्क जग्गा उपलब्ध गराएर जनताको स्वास्थ्य सेवा पाउने कुरामा आफूहरुले निकै ठूलो योगदान गरेको जानकारी गराए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य वडा अध्यक्ष दलबहादुर मल्ल राखेका थिए । १० करोड ८३ लाख ३६ हजारको कुल लागतमा निर्माण हुने अस्पताल १० शैयाको हुनेछ । अस्पताल निर्माण गर्नका लागि स्थानीयहरुले ९ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका छन् ।

अस्पताल निर्माणका लागि उपयुक्त र निशुःल्क जग्गाको खोजी हुँदा स्थानीयले आवश्यक क्षेत्रफलको जग्गा उपलब्ध गराएपछि सो स्थानमा अस्पताल निर्माण हुने भएको हो । अस्पताल मध्यपहाडी लोकमार्गबाट ५ सय मिटर मात्रको दुरीमा निर्माण हुन लागेको छ । यस अघि गाउँपालिकामा ८ वटा स्वास्थ्य चौकी र अन्य नीजि क्लिनिकहरुले स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेका छन् ।