पर्वतको मोदी गाउँपालिकाले बनायो आफ्नै लोगो, यस्ता छन् विशेषता

मोदी गाउँपालिकाले आफ्नै लोगो (निशान छाप) तयार गरेको छ । गाउँपालिकाको पहिचान झल्किने खालको लोगो तयार गरेको हो ।लोगोमा गाउँपालिकाका सवै पहिचानहरुलाई अटाईएको छ । लोगोमा नेपालको झण्डा, मोदी गाउँपालिकाको प्रमुख उत्पादन धानका वाला, मोदी गाउँपालिकाका विभिन्न जंगलमा पाईने ८ वटा गुँरास, प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे जस्तो देखिने पहाड, र विभिन्न जठिवुटीहरु पाईने जंगल समेत लोगोमा रहेको छ ।
त्यसैगरी गाउँपालिकाभित्र पाईने विभिन्न पंक्षिहरुको तस्विर पनि लोगोमा रहेको छ भने गाउँपालिका भित्र रहेका होमस्टे, झरना समेत राखिएको छ । मोदी गाउँपालिकामा साना ठुला गरी ५० भन्दा बढि झरनाहरु रहेका छन् । त्यसैगरी लोगोको मध्य भागमा केरा र सुन्तलाका बोटहरु राखिएको छ भने मोदी गाउँपालिकाको बीचमा बगिरहेको उर्जानदिनको रुपमा रहेको मोदीखोलाको तस्विर पनि अटाईएको छ । जहाँ आधा दर्जनको हाराहारीमा विद्युत उत्पादन गृहहरु संचालन भैरहेका छन् ।
त्यसैगरी मोदी खोला वारपार गर्न बनाईएका झोलुुङ्गे पुल समेत राखिएको छ । कृषि, पर्यटन, जलश्रोत र स्थानीय कला संस्कृति नै मोदी गाउँपालिकाका मुख्य पहिचान र विशेषता भएकाले ती सवै कुराहरुलाई लोगोमा समावेश गरिएको निर्माणकर्ता कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।मोदी गाउँपालिकाले सुचना जारी गरी गाउँपालिकाको पहिचान झल्कने लोगो बनाएर पेश गर्न आव्हान गरेपछि सात वटा निवेदन परेकोमा वडा नं. ७ राम्जादेउरालीका कृष्णप्रसाद शर्माले बनाएको लोगो उत्कृष्ट ठहरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार यहि पुस १४ गते वसेको गाउँ कार्यपालिकाको वैठकले उक्त लोगोलाई मोदी गाउँपालिकाको आधिकारीक लोगोको रुपमा प्रयोग गर्ने निणर्य समेत गरेको क्षेत्रीले जानकारी दिनुभयो ।पर्वतका सात स्थानीय तहमध्ये पहिलोपटक मोदी गाउँपालिकाले लोगो तयार गरेको हो । अन्य ६ वटा स्थानीय तहले भने प्रदेश र संघीय सरकारकै लोगो प्रयोग गर्दै आइरहेका छन् ।