मोदी ३ देउराली बाल मैत्री वडा घोषणा कार्यक्रम l

 मोदी गाउँपालिका वडा नं. ३ देउराली जिल्लाकै तेश्रो बालमैत्री वडा घोषणा भएको छ । गाउँपालिकाले विभिन्न बालमैत्री वडा घोषणाका लागि पुरा गर्नुपर्ने सुचकहरु पुरा भएको भन्दै जिल्ला स्तरीय अनुगमन पश्चात् अनुगमन समितिको सिफारिसका आधारमा देउराली जिल्लाको तेश्रो बाल मैत्री वडा घोषणा भएको हो । राष्ट्रिय बालदिवसका अवसरमा वडालाई बालमैत्री वडा घोषणा गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले घोषणालाई कार्यक्रममा मात्रै सिमित नराखि देशकै नमुना वडाका रुपमा अघि बढाउन सुझाव दिनुभएको थियो । कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले पर्वतमा मोदी गाउँपालिकाले यस अघि पहिलो वडाका रुपमा वडा नं. ८ चित्रेलाई घोषणा गरेको र क्रमिक रुपमा सवै वडालाई बालमैत्री घोषणा गरी राज्यको लक्ष्य अनुरुप पहिलो बाल मैत्री गाउँपालिका रुपमा स्थापित गर्ने गरी कार्य अघि बढाउन समेत निर्देशन दिनुभएको थियो ।
नेपाल सरकारको सन् २०८२ भित्र नेपाल लाई बालमैत्री राज्यका रुपमा स्थापित गराउने रणनीति अनुरुप कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । पर्वतमा पहिलो वडाका रुपमा मोदी गाउँपालिकाकै वडा नं. ८ चित्रे बालमैत्री वडा घोषणा भएको थियो भने दोश्रो वडाका रुपमा पैञ्यु गाउँपालिकाको वडा नं. ७ भोर्ले र तेश्रो वडाका रुपमा मोदी गाउँपालिकाको देउराली घोषित भएको हो ।
घोषणा कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले स्थानीय बालबालिका तथा अभिभावकहरुलाई प्रतिबद्धता पत्र पढेर बाचन गर्न लगाउनुभएको थियो । यस अघि भदौ १३ गते भएको जिल्ला स्तरीय अनुगमन टोलीले अनुगमनका क्रममा केही सुचकहरु अपूणर् भएको पाइएको भन्दै ती सुचकहरुलाई पुरा गरेर भदौ २९ गते घोषणा गर्नका लागि सिफारिस गरेको थियो । सोही अनुरुप देउराली बालमैत्री वडा घोषणा भएको हो ।
बाल मैत्री वडा घोषणाका लागि स्थानीय बाल मैत्री शासन ऐन अनुसार ५१ वटा सुचकहरु पूणर् रुपमा पुरा गर्नुपर्ने प्रावधान रहेको छ । मोदी गाउँपालिका ३ देउरालीलाई बाल मैत्री वडा घोषणा गर्नका लागि गाउँपालिका सहित गुडनेवर्स इन्टरनेसनलको सहयोगमा सोडेक नेपाल, स्थानीय वडा, विद्यालय लगायत लागिपर्दै आइरहेका थिए । घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले अन्य वडाहरुलाई पनि क्रमिक रुपमा घोषणा गर्ने तयारी गरिएको र जिल्लाकै पहिलो बाल मैत्री गाउँपालिकाका रुपमा घोषणा गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले गर्नुभएको कार्यक्रममा स्वागत वडाध्यक्ष देवेन्द्र क्षेत्रीले गर्नुभएको थियो ।